कञ्चनपुरका आरक्षपीडितहरूद्वारा बम आयोगको प्रतिवेदन कार्यान्वयन नगरे अनसन सुरु गर्ने घोषणा

बिहीबार श्रावण २३, २०८२/ Thursday 08-07-25
Paschim Today

 

कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडितहरूले सरकारलाई बम आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गर्दै आमरण अनसन सुरु गर्ने घोषणा गरेका छन्।

बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएका उनीहरूले सरकारले पटक-पटक आश्वासन दिएर पनि समस्या समाधानतर्फ ध्यान नदिएको आरोप लगाएका छन्। आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाका अनुसार बिहीबारदेखि कञ्चनपुरको मदनचोकमा आमरण अनसन सुरु गरिनेछ।

अध्यक्ष जय बहादुर रोकायाको भनाइ “हामीले काठमाडौंमा पनि अनसन बस्यौँ, मन्त्रीले आश्वासन मात्र दिए, कार्यान्वयन भएन। अब यो अन्याय सहन्नौं।” उनीहरूले तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका हजारौं परिवारको अझैसम्म पुनर्स्थापना नहुँदा मानवअधिकार उल्लङ्घन भएको आरोप लगाएका छन्।

२०५८ सालदेखि पुनर्स्थापना नपाएका पीडितहरू अहिले पनि अत्यन्तै कष्टकर जीवन बिताउन बाध्य छन्। पूर्व एमाले युवा नेता समेत रहेका सुरेन्द्र बमको नेतृत्वमा गठित आयोगले हरेक पीडित परिवारलाई १० कट्ठा जमिन वा ६० लाख रुपैयाँ क्षतिपूर्ति दिन सिफारिस गरेको थियो। तर, सरकार उक्त निर्णय कार्यान्वयन गर्न नचाहेको भन्दै पीडितहरू अझै चिन्तित छन्।