अष्ट्रेलियाको कार्यक्रममा बाजुराका चार नगरप्रमुखहरूको सहभागिता, विश्व मञ्चमा दुर्गम स्वास्थ्यबारे बहस

मेलबर्न (अष्ट्रेलिया) — बाजुराका चार स्थानीय तहका प्रमुखहरू अष्ट्रेलियामा आयोजित राष्ट्रिय विज्ञान सप्ताह (National Science Week 2025) मा सहभागी भई दुर्गम स्वास्थ्यमा नवप्रवर्तनका उपायबारे बहस गरिरहेका छन्।
स्मार्ट हेल्थ ग्लोबलको आयोजनामा भएको कार्यक्रममा बुढीगंगा नगरपालिका प्रमुख रामबहादुर बानिया, बुढीनन्दा नगरपालिका प्रमुख जनक बोहरा, बडिमालिका नगरपालिका प्रमुख अमरबहादुर खड्का र त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापाले “नवप्रवर्तनमार्फत दुर्गम स्वास्थ्यमा रूपान्तरण: मैदानस्तरका आवाज, चुनौती र समाधान” विषयमा आफ्नो विचार राखेका थिए।
ला ट्रोब विश्वविद्यालय, मेलबर्नमा १४ अगस्टमा सम्पन्न कार्यक्रम अन्तरगत विज्ञ, नवप्रवर्तक तथा समुदायका अग्रणी व्यक्तिहरूले विज्ञान र प्रविधिको प्रयोगबाट दुर्गम क्षेत्रमा स्वास्थ्य सशक्तिकरणका उपायहरूबारे छलफल गरेका थिए। प्रमुख बानियाले बुढीगंगा नगरपालिका तथा समग्र बाजुराको अनुभव, चुनौती र समाधानका उदाहरणहरू प्रस्तुत गरे।
यस अवसरमा सहभागी टोलीले अष्ट्रेलियाको ह्यूम सिटी काउन्सिलका मेयर क्र. ज्यारोड बेलसँग पनि भेटघाट गरी अनुभव आदान–प्रदान गरेका छन्। उक्त भेटलाई दुवै पक्षले नगरपालिका–बीचको सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिएका छन्।
कार्यक्रम सम्भव बनाउन सहयोग गर्ने भिक्टोरियास्थित नेपालका माननीय कन्सुल श्री निराजन गौली, स्मार्ट हेल्थ ग्लोबलका प्रमुख कार्यकारी अधिकृत श्री मनोज खड्का तथा अष्ट्रेलियाली सरकारप्रति सहभागीहरूले आभार व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया