रञ्जिता नै नाउपा अध्यक्ष भएको आयोगको निर्णयपछि रेशम पक्ष अन्योलमा

बुधबार श्रावण २९, २०८२/ Wednesday 08-13-25
Paschim Today

 निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)अध्यक्ष रञ्जिता श्रेष्ठ कायम रहने निर्णय लिएपछि पार्टी संरक्षक रेशम चौधरी पक्षको औपचारिक कुनै निर्णय आएको छैन ।

१४ र १५ साउनमा काठमाडौंमा राष्ट्रिय भेला बोलाएर रेशम पक्षधरले पार्टी अध्यक्ष रञ्जितालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । रञ्जितालाई पदमुक्त गरेर लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाइएको थियो ।

पार्टी अध्यक्ष रञ्जितालाई पदीय भूमिकाबाट हटाउने प्रस्ताव भेलामा उपस्थितले सर्वसम्मत पारित गरेका थिए ।

केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद लगायतको भेला गरेर रञ्जितालाई पदमुक्त गर्नेगरी निर्णय भएको थियो । भेलामा अनुपस्थित रञ्जिताले अवैध सम्मेलन भनेर प्रतिक्रिया दिएकी थिइन् ।

पूर्वभूमि व्यवस्थामन्त्री समेत रहेकी रञ्जितालाई  पदमुक्त गर्नका लागि रेशम पक्षधरले पाँच कारण देखाएको थियो ।  कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा उनी समेत मुछिएकी थिइन् ।

पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमिसुधार मन्त्री भइसकेकी रञ्जिता र मन्त्रीलाई पैसा बुझाउने व्यक्तिसँग निरन्तर संवाद भएको खुलेको थियो । पूर्वमन्त्री रञ्जिताले पोखराका बिचौलियासँग निरन्तर फोन र म्यासेज गरेर काम अघि बढाइदिने आश्वासन दिएकी थिइन् । त्यही प्रकरणमा रञ्जितालाई अख्तियारले बयानका लागि बोलाएको थियो । पार्टी बैठक आह्वान गर्न पटक(पटक आग्रह गरे पनि नबोलाएको भन्दै रेशम पक्षधर उनीसँग रुष्ट थिए । उनीमाथि उठेका प्रश्नको स्पष्टीकरण सोधे पनि रञ्जिताले जवाफ भने दिइनन् ।

विवादै विवादमा मुछिएकी उनलाई विधि पुर्‍याएर कारबाही गरेको रेशम पक्षधरले दाबी गरेपनि त्यसलाई निर्वाचन आयोगले मान्यता दिएन ।

पार्टी अध्यक्ष परिवर्तन गरेको निर्णय र पदाधिकारीमा भएको हेरफेरबारे निर्वाचन आयोगलाई जानकारी गराए पनि त्यसलाई आयोगले मान्यता दिएन । नाउपाको विषयमा निर्णय लिन मंगलबार बसेको आयोगका पदाधिकारी बैठकले रञ्जिता नै अध्यक्ष रहेको निर्णय लिएको हो ।

निर्वाचन आयोगको निर्णय बारेमा संरक्षक रेशम पक्षको बैठक बसेर मात्रै जानकारी आउने महासचिव ठाकुरसिंह थारूले जानकारी दिए ।

‘अहिले के भन्नु र रु हाम्रो बैठक बसेको छैन । भोलि रेशम जी बर्दिया आउनुहुन्छ । छलफल गरेर केही भन्न सकिएला,’ महासचिव थारूले भने ।

निर्वाचन आयोगको निर्णयले एकपक्ष उत्साहित र अर्को पक्ष निरुत्साहित हुने अवस्था बनेको थारूले बताएका छन् । आयोगको निर्णयबारे प्रतिक्रिया दिँदै महासचिव थारूले कसैको जित कसैको हारको विषय नभएको बताए ।

‘आयोगको निर्णयले सबै नेता तथा कार्यकर्ताहरूलाई एकबद्ध भएर हिँड्नुको विकल्प नभएको सन्देश दिएको छ । आयोगको निर्णयलाई सबैले स्वीकार गर्दै पार्टीको अगामी कार्यक्रम, नीति र पद्धतिका लागि एकजुट हुनु आजको आवश्यकता हो,’ थारूले सामाजिक सञ्जालमा लेखेका छन् ।

नाउपामा पार्टी नेताहरूले केन्द्रीय समितिको बैठक आह्वान गर्न अध्यक्ष रञ्जितालाई आग्रह गरे पनि उनले वेवास्ता गर्दै आएको बताउँदै आएका छन् । आयोगको निर्णयपछि अध्यक्ष रञ्जिताले केन्द्रीय समितिको बैठक बोलाउने अपेक्षा महासचिव थारूले गरेका छन् ।

अध्यक्षले विगतको कमजोरीमाथि निर्मम आत्मसमीक्षा गरी नयाँ कार्यदिशा तय गर्ने आशा उनले गरे ।

‘छुटेका केन्द्रीय पदाधिकारीलाई निर्वाचन आयोगमा अद्यावधिक गराई सबैलाई समेट्नु हुने नै छ । हामी नेता तथा कार्यकर्ताले रञ्जिता, संरक्षक  रेशम, लालबीर ज्यू, जो सुकै हुन अध्यक्षका रूपमा स्वीकार गरेकै छौँ । हाम्रो एउटै चाहना हो, तपाईंहरूबीच हुने विवाद अन्त्य होस्,’ थारूले भने ।