पूर्व मुख्यमन्त्री रावललाई अत्तरियामा अभिनन्दन

बुधबार श्रावण २९, २०८२/ Wednesday 08-13-25
Paschim Today

अत्तरिया (कैलाली) — सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई अत्तरियामा अभिनन्दन गरिएको छ।

बुधबार कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियामा आयोजित गौरा र तीज विशेष कार्यक्रममा रावललाई सम्मान गरिएको हो। राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति अत्तरिया, कैलालीको आयोजनामा उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लिलाधर बास्कोटाले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथि पूर्व मुख्यमन्त्री रावल रहेका थिए।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्री प्रकाश बम र प्रतिष्ठानका अध्यक्ष बास्कोटाले रावललाई अभिनन्दन पत्र हस्तान्तरण गरे।   

आन्दोलनमा प्रत्यक्ष सहभागिता, सामाजिक–सांस्कृतिक, पुरातत्त्व, खोज अनुसन्धान तथा सद्भावको मूलमन्त्रलाई आत्मसात गर्दै राष्ट्रसेवामा पुर्‍याएको योगदानबापत रावलको अभिनन्दन गरिएको जनाइएको थियो । कार्यक्रममा सम्बोधन गर्दै रावलले मौलिक पर्वहरूको संरक्षणमा सुदूरपश्चिम प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
“गौरा र तीज हाम्रो मौलिक पर्व हुन्,” उनले भने, “यी पर्वमा पीडा, रोदन मात्र होइन, समाज परिवर्तनका स्वर र समृद्ध नेपालका आकांक्षा झल्किनुपर्छ।”

उनका अनुसार, तीज केवल गीत, नृत्य र व्रतको पर्व मात्र नभई नारीको अटल धैर्यता, शक्ति र न्यायप्रतिको प्रतिवद्धताको प्रतीक हो। उनले देवी पार्वती र भगवान शिवको कथा आजको नेपालको राजनीतिक यथार्थसँग पनि सम्बन्धित रहेको उल्लेख गर्दै भने, “पार्वतीले आफ्नो सपना पूरा गर्न वर्षौंसम्म कठोर तपस्या गरिन्, अस्थिरता, प्रलोभन वा दबाबमा कहिल्यै झुकिनन्, अन्ततः अटलता र लक्ष्यप्रतिको निष्ठाको विजय भयो।”

कार्यक्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विना कुमारी भट्टराई, कैलालीको चुरे गाउँपालिकाकी उपाध्यक्ष धनादेवी थापा लगायत सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रका अगुवा महिलालाई प्रमुख अतिथि रावलले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

तीज गीत प्रतियोगिता, गौराको फाग, नाचगान लगायतका प्रस्तुतीसहित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्।