Close This

अमेरिका छोडेर धनगढीमा मार्ट र एग्रोमा रमाउँदै प्रकाश

आइतबार माघ ८, २०७९/ Sunday 01-22-23
Paschim Today

धनगढी,८ माघ । सपनाको देश अमेरिका छोडेर स्वदेश फिर्ता हुने निर्णय सुनाउँदा प्रकाश शाहलाई कतिपय आफन्त र साथीभाइहरूले अमेरिका नछोड्न सुझाव दिएका थिए । उनी भने नेपाल फर्किने दिन गनेर बसेका थिए । नेपाल फर्किने मुड बनाइसकेका उनलाई उनलाई कसैको सुझावले छोएन । सन २०२१ मा उनी छ वर्ष लामो अमेरिकाको बसाई विट मार्दै नेपाल फर्किए । 

बिहा लगत्तै पत्नी अन्जुसँग अमेरिका गएका उनीसँग फर्किदा छोरी पनि थिइन । अमेरिकामै जन्मिएकी छोरीलाई यहाँको वातावरण र खानपिनमा घुलमिल हुन केही समय गाह्रो भएपछि उनी अमेरिका फर्किने मानसिक दबाबमा थिए । 

अमेरिकाको सुख सुविधा छोडेर नेपाल फर्किने ? उनलाई कतिपयले मूर्ख पनि भने । कसले के भन्छन्, ? के सोच्छन् ? उनले त्यसतर्फ फर्केर पनि सोचेनन् । आफ्नो देशमै फर्केर केही काम गर्ने हुटहुटी थियो । उनले त्यही हुटहुटी पछ्याए । 

आफ्नै देशमा कुनै व्यवसाय गर्ने सोच थियो । तर कस्तो व्यवसाय गर्ने त्यो भने उनले सोचिसकेका थिएनन् । उनको पहिलो रोजाई भने कृषि क्षेत्र थियो । ताजा अर्ग्यानिक कृषि उपज उपभोक्ताहरूमाझ पु¥याउने सोचले उनले खोले, फ्रेस हब एग्रो एण्ड टुरिज्म प्रा.लि. । त्यही क्रममा उनी साथी मार्टसँग जोड्न पुगे । त्यसको शेयर लिए । जस अन्तर्गत देशभरी ११९ वटा मार्ट सञ्चालनमा छन् । यति बेला उनी देशव्यापी रूपमा फैलिएको साथी मार्ट र फ्रेस हब एग्रो एण्ड टुरिज्म प्रा.लि.लाई सुदूरपश्चिममा फैलाउन तल्लीन छन् । धनगढीमा दुई वटा मार्टमा उनको पूर्ण स्वामित्व छ । दुई वटा फ्रेञ्चाईजमा सञ्चालनमा छन् । उनले प्रत्यक्ष रूपमा १० जनालाई रोजगारी दिएका छन् । 

निकट भविष्यमा प्राकृतिक स्विमिङ पुल सञ्चालन गर्ने योजना बुनिरहेका शाहलाई लगातार वृद्धि भइरहेको ब्याजदर र आर्थिक मन्दीले भने पिरोलेको छ । तर उनी विचलित छैनन् । समय सधैँ एकनास कहाँ हुन्छ र ? भन्छन्, 'राम्रो समय आउनेमा आशावादी छु । जे काम गर्छु आफ्नै देशमा गर्छु ।'

यो पनि पढ्नुस् :-

पौरखी युवा : जो उद्यम गर्न स्वदेश फर्किए

महेश शाह : जसले अमेरिकाबाट फर्किपछि व्यवसायमा नयाँपन दिए

जसले आरपी बेकरी मार्फत धनगढीलाई नेपालमा चिनाए

बेलायतबाट फर्केका शाहले खोले सुबिधा सम्पन्न सौंराई स्क्वायर

धर्मराज जोशी : जसले कोरियाबाट फर्केर सय जनालाई दिए रोजगारी