धनगढीका १९ वर्षीय जयन्त बिस्टले बनाएको अनलाइन प्लेटफर्म, जहाँ दैनिक पढ्छन् हजारौँ विद्यार्थी
![](https://paschimtoday.com/uploads/news/images/note-library-techpana-news_VxNoi0cg5w2025-02-07-02-55-49.jpeg)
काठमाडौं । धनगढीको ग्यालेक्सी सेकेन्डरी स्कुलमा विज्ञान विषय पढ्दै गर्दा १६ वर्षीय जयन्त बिस्टको मनमा एउटा तृष्णा पलायो, कम्प्युटर इन्जिनियरिङ पढ्ने । कतै कुनै प्रसङ्गमा उनले कम्प्युटर इन्जिनियरिङ नयाँ युगका लागि अपरिहार्य भएको कुरा सुनेका थिए । त्यसैको प्रभावले होला उनको कलिलो मस्तिष्क कम्प्युटरबारे सिक्न, बुझ्न र नयाँ प्रविधि खोतल्न उत्सुक थियो ।
कम्प्युटर इन्जिनियरिङ पढ्न पहिला इन्ट्रान्समा नाम निकाल्नुपर्छ भन्ने बुझेका थिए, उनले । त्यसैले कक्षा ११ देखि नै इन्टरनेटमा इन्जिनियरिङका कोर्सहरू खोजेर पढ्ने योजनामा लागे । इन्टरनेटमा केही जानकारी खोज्ने बित्तिकै सहजै भेटिन्छ भन्ने मानसिकतामा हुर्किएका उनी उत्साहित हुँदै उपयुक्त वेबपेज खोज्थे । केही सान्दर्भिक वेबसाइट नभेटिएका पनि होइनन् । तर, उनले अपेक्षा गरे अनुसारका सामग्री त्यहाँ देखिएनन्, भेटिएनन् ।
तर डिजिटल संसारमा इन्टरनेट र वेबपेज मात्र सामग्री खोज्ने सीमित ठाउँ हुन् भन्ने हुँदैन । वेबपेजमा आफू अनुकूलका सामग्री नभेटाएका बिस्टले फेसबुक नियाल्न थाले । “फेसबुकमा पनि इन्जिनियरिङ अध्ययन सम्बन्धी कन्टेन्ट भेटाउनै गाह्रो भयो,” उनी सम्झिन्छन्, “केही ग्रुप थिए । तर, ती सबै सञ्चालकको आफ्नै नियन्त्रणमा चल्ने । छलफल गर्ने भनेर पो फेसबुक ग्रुप खोलिएको हुन्छ । तर, सबै सञ्चालकले आफ्नो चाहना, अझ भनौँ स्वार्थका लागि प्रयोग गर्न थालेपछि कहाँ प्रभावकारी हुन्छ ?”
भेटिएका ग्रुपमा पर्याप्त छलफल हुँदैनथ्यो । बिस्टले यो कमजोरी पत्ता लगाएर आफैँले फेसबुक ग्रुप खोले, ‘आईओई इन्ट्रान्स प्रिप्रेसन’ । ग्रुप खोलेपछि उनले विभिन्न माध्यमबाट सामग्री सङ्कलन गर्दै त्यसमा पोस्ट गर्न थाले । पर्याप्त अध्ययन सामग्री, छलफल गर्ने गज्जबको प्लेटफर्म फेला पारेपछि यसमा जोडिनेहरू बढ्दै गए ।
“धेरैलाई यस्तो प्लेटफर्म चाहिएको रहेछ भन्ने महसुस भयो,” उनी भन्छन्, “सबैलाई समान रूपमा पोस्ट, विचार, प्रश्न राख्ने सुविधा दिएँ । छलफल गर्न उपयुक्त हुने देखेर धेरै जना जोडिँदै जानुभयो ।”
पछि उनलाई इन्जिनियरिङ अध्ययन संस्थानको मात्र नभई ‘कमन इन्ट्रान्स इक्जामिनेसन’ (सीईई) को पनि आवश्यकता महसुस भयो । त्यसपछि उनले ‘सीईई इन्ट्रान्स प्रिपरेसन’ नामक अर्को समूह खोले । त्यसमा पनि विद्यार्थीहरू जोडिने क्रम उस्तै ।
परिवारको दबाबमा जियोमेट्रिक्स इन्जिनियरिङ
आफैँले फेसबुक ग्रुप खोलेर इन्ट्रान्सको तयारी गरिरहेका बिस्टलाई परिवारबाट भने जियोमेट्रिक्स इन्जिनिरिङ पढ्ने दबाब थियो । “खासमा दिदीलाई जियोमेन्ट्रिक्स इन्जिनियरिङ पढाउने बुबाको सपना थियो । तर, दिदीले साथीको लहलहैमा लागेर अमिन पढ्न थाल्नुभयो । त्यसपछि त जियोमेट्रिक्स इन्जिनियरिङ पढ्ने दबाब मतिर सर्यो,” उनी थप्छन् ।
बिस्टका बुबा सरकारी विद्यालयका शिक्षक अर्थात् सरकारी जागिरे । त्यसैले नै होला, छोराछोरीलाई पनि त्यतैतर्फ मोड्न चाहन्थे । यसका लागि कसैले जियोमेट्रिक्स इन्जिनियरिङ उपयुक्त हुन्छ भन्दै बुबालाई विश्वस्त बनाइ दियो । त्यसैको आडमा उनका बुबाले छोराछोरीलाई जियोमेट्रिक्स इन्जिनियरिङ पढ्ने दबाब दिन थालेका थिए ।
आफ्नो चाहना कम्प्युटर इन्जिनियरिङ पढ्ने भए पनि उनी परिवारको इच्छा विपरीत जान चाहेनन् । त्यही बेला उनले स्वाध्ययन मार्फत कम्प्युटर इन्जिनियरिङ पढ्ने र सँगसँगै बुबाको सपना पनि पूरा गर्ने निधो गरे । “मलाई ११ कक्षादेखि नै प्रोग्रामिङमा रुचि थियो,” उनी भन्छन्, “परिवारले जे पढाए पनि मैले प्रोग्रामिङलाई कहिल्यै नछोड्ने सङ्कल्प लिएको थिएँ ।”
यसरी उनले इन्ट्रान्सको तयारी गर्दै, प्रोग्रामिङ सिक्दै कक्षा १२ पूरा गरे । त्यही समयमा फेसबुक ग्रुप बाहेक टेलिग्राम च्यानललाई पनि नोट पाउन सकिने प्लेटफर्मका रूपमा स्थापित गराए । अहिले पनि टेलिग्राममा उनका थुप्रै च्यानलहरू छन्, जहाँबाट इन्जिनियरिङका साथै कक्षा ११ र १२ का नोट तथा अन्य सामग्री पाउन सकिन्छ ।
कक्षा १२ पास गरिसकेपछि बिस्ट जियोमेट्रिक्स इन्जिनियरिङ अध्ययन गर्न ललितपुर स्थित हिमालयन कलेजमा भर्ना भए । अहिले आफूलाई १९ वर्षको बताउने बिस्ट दोस्रो वर्षमा अध्ययनरत छन् ।
फेसबुक ग्रुप र टेलिग्राम च्यानलको सक्रियता
प्रत्यक्ष रूपमा आर्थिक उपार्जन नहुँदा फेसबुक ग्रुप वा अन्य प्रकारका टेलिग्राम च्यानल निःस्वार्थ ढङ्गले सञ्चालन गर्न सकस नै हुन्छ । खासगरी त्यसमा जति महत्त्वपूर्ण समय दिइएको हुन्छ, त्यसले तत्कालै आर्थिक फाइदा नदिने भएपछि धेरैले निरन्तरता दिन छोडी दिन्छन् । तर, बिस्टको हकमा भने यो कुरा लागु भएन । उनी भन्छन्, “अरूले ग्रुपमा मेम्बरलाई अध्ययनसँग सम्बन्धित पोस्ट हाल्न नदिने, हाले पनि राम्रो भयो भने ब्लक गरी दिने देखेको थिएँ । त्यही इखले आफैँले ग्रुप सुरु गरेको हुँ । आर्थिक रूपमा तत्कालै केही फाइदा नभए पनि धेरैले सिक्न पाएका छन्, सजिलै नोट पाएका छन् भन्ने महसुस हुन्छ । यसैबाट बढी सन्तुष्ट छु ।”
उनले सुरुवाततिर ग्रुपमा आफ्ना शिक्षक र साथीहरूसँग मिलेर यी सामग्री सङ्कलन र व्यवस्थापन गरे । विस्तारै ग्रुपमा जोडिनेहरूले पनि अन्य विद्यार्थीको आवश्यकता महसुस गर्दै आफूसँग भएका सामग्री ग्रुपमा पोस्ट गरी दिन थाले । “सिनियरलाई जहिले पनि आफूले बनाएका नोट जुनियरलाई काम लागोस् भन्ने हुँदो रहेछ,” बिस्ट भन्छन्, “त्यसको प्रभावले ग्रुपमा दिनहुँ सयौँ पोस्ट आउन थाले ।”
फेसबुक र टेलिग्राम च्यानलमा नोट उपलब्ध भए पनि त्यसलाई व्यवस्थित गर्न चुनौती थियो । खासगरी पोस्ट अरूले नै राख्ने भएकाले अन्य विद्यार्थीको आवश्यकता अनुसार ग्रुपिङ गर्न बिस्टलाई मुस्किल भयो । उनले व्यवस्थित गरेर राख्ने कोसिस नगरेका पनि होइनन् । तर, विद्यार्थीलाई कहाँ कसरी राखिएको छ भन्ने बुझ्नै गाह्रो ।
फेसबुक पेजहुँदै वेबसाइट र मोबाइल एपसम्म
फेसबुक ग्रुप र टेलिग्राम च्यानलमा व्यवस्थित गरेर राखे पनि ती सामग्री फेला पार्न विद्यार्थीका लागि चुनौती थियो । त्यसैले थप व्यवस्थित प्लेटफर्मको आवश्यकता महसुस गरी उनले नोटलाइब्रेरी नामक वेबसाइट र मोबाइल एप बनाउने योजना बनाए ।
निर्मल पाठक
यसमा उनलाई सघाउन फेसबुक ग्रुपमै भेटिएका साथी निर्मल पाठकले साथ दिने भए । पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ पढिरहेका उनले वेब र एप बनाउने जिम्मा लिए । यता बिस्टले त्यसका लागि उपयुक्त हुने सामग्रीको सङ्कलन थाले । सुरुवातमा यो प्लेटफर्म विज्ञान विषयमा मात्र केन्द्रित थियो । तर पछि व्यवस्थापनका विद्यार्थीहरूका लागि पनि सामग्रीहरू थपिए ।
बिस्टका अनुसार यस प्लेटफर्मले नोट, विगतका परीक्षाका प्रश्नपत्र र क्विज लगायतका शैक्षिक सामग्रीहरू निःशुल्क रूपमा उपलब्ध गराउँछ । सबै सामग्री निःशुल्क राख्ने प्रतिबद्धताका जनाएका उनले प्रिमियम सामग्रीहरू थप्ने कुनै योजना बनाएका छैनन् । प्लेटफर्ममा प्रवेश परीक्षा समूह, क्विज समूह, छलफल समूह र चिकित्साका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै समूह छन् ।
यस प्लेटफर्मका लागि आवश्यक सामग्रीहरू शिक्षक, साथी र अनलाइन कक्षा लगायत विभिन्न स्रोतहरूबाट सङ्कलन हुने गरेको उनी सुनाउँछन् । भन्छन्, “धेरैजसो सामग्रीहरू हस्तलिखित नोटहरू नै हुन्, जसलाई पीडीएफमा रूपान्तरण गरिएको छ ।”
अन्यत्र सजिलै नपाइने स्रोतहरू उपलब्ध गराउने उद्देश्यका साथ यो प्लेटफर्म सञ्चालनमा ल्याएको उनी सुनाउँछन् । खासगरी विस्तृत समाधानसहित विगतका परीक्षाका प्रश्नपत्रहरू पनि यसमा राखिएका छन् । यसका साथै उनीहरूले सबै प्रदेशका विद्यार्थीहरूका लागि सान्दर्भिक सामग्रीहरू उपलब्ध गराउने प्रयास पनि गरिरहेका छन्, जुन अन्य प्लेटफर्महरूमा सामान्यतया नपाइने उनी सुनाउँछन् ।
विद्यार्थीलाई अनलाइमा पढ्दा डिस्टर्ब गर्ने थुप्रै चिजहरू हुन्छन् । खासगरी एप वा वेबसाइटमा आउने ‘थर्ड पार्टी’ विज्ञापनले विद्यार्थीलाई हैरान पारिरहेका हुन्छन् । त्यसैको विकल्पको रूपमा एप ल्याएको बिस्ट सुनाउँछन् । भन्छन्, “वेबसाइट वा एपमा थर्डपार्टी विज्ञापन राख्दा त्यसले विद्यार्थीलाई डिस्ट्राक्ट गर्छ । त्यसैले हामी कहिल्यै पनि थर्ड पार्टी विज्ञापन इन्टिग्रेट गर्ने योजनामा छैनौँ ।” आम्दानीका लागि के विकल्प छ त ? बिस्टसँग यसको पनि योजना छ । उनी अगाडि भन्छन्, “थुप्रै इन्स्टिच्युटलाई विद्यार्थी चाहिएको हुन्छ । कतिपय विद्यार्थी इन्स्टिच्युटसम्म पुग्न सकेका हुँदैनन्, कतिपय इन्स्टिच्युट विद्यार्थीसम्म पुगेका हुँदैनन् । त्यसैले राम्रा इन्स्टिच्युटको विज्ञापन एपमा राखेर आम्दानी गर्ने योजना छ । त्यसरी भइरहेको पनि छ ।” यसले गर्दा इन्स्टिच्युट, विद्यार्थी र सञ्चालकका रूपमा उनी स्वयम्लाई पनि फाइदा पुग्ने बिस्टको विश्वास छ ।
उनीहरूले प्लेटफर्मबाट हुने आम्दानीलाई मर्मत खर्च काटेर बाँड्छन् । प्लेटफर्म होस्ट गर्न वार्षिक छ हजार रुपैयाँ खर्च लाग्छ । त्यो पनि नेस्ट नेपालले विद्यार्थीले सञ्चालन गरेको भन्दै सस्तोमा उपलब्ध गराएको बिस्ट सुनाउँछन् । प्लेटफर्मले मासिक आम्दानीका लागि ब्यानर विज्ञापन प्रयोग गर्छ, जुन परिचालन खर्च र टिमका सदस्यहरूलाई आर्थिक सहयोग गर्न प्रयोग गरिन्छ ।
प्लेटफर्मको वृद्धि मुख्यतया रिफरल, मौखिक प्रचार र एप स्टोरबाट गरिने सर्चमा आधारित भएको बिस्टको भनाइ छ । उनी शिक्षकहरूलाई निःशुल्क भिडिओ लेक्चरहरू प्रदान गर्न लगाएर प्लेटफर्मको सामग्री विस्तार गर्न चाहन्छन्, तर धेरै शिक्षकहरूले यसबाट आफूलाई कुनै प्रत्यक्ष फाइदा नहुने देखेर हिचकिचाउने गरेको भन्दै उनी दुखेसो पोख्छन् । भन्छन्, “एपमा भिडिओ हालेर के फाइदा ? भन्नुहुन्छ । तर, त्यहीँबाट विद्यार्थी युट्युब च्यानलसम्म पुग्छन् भन्ने ख्यालै गर्नु हुन्न उहाँहरू । तर, सिनियर दाइहरू यसमा सहज हुनुहुन्छ । उहाँहरू आफूले जानेका कुरा सिकाउन तयार हुनुहुन्छ र भिडिओ बनाइदिनु हुन्छ ।
उनले शिक्षण संस्थाहरूसँग पनि सहकार्य र विस्तारका लागि अवसरहरू खोज्ने योजना बनाएका छन् । यस बाहेक उनले प्लेटफर्मको एसईओ (सर्च इन्जिन अप्टिमाइजेसन) सुधार गर्नमा पनि ध्यान दिइरहेका छन्, ताकि सर्च रिजल्टमा यो अघि होस् । उनले हाल एपका सक्रिय प्रयोगकर्ताहरूको सङ्ख्या दैनिक १० हजार बढी रहेको बताए । एपको डाउनलोड लगभग ५० हजार पुग्न लागेको उनी सुनाउँछन् । भन्छन्, “५० हजार नपुग्दा १०के प्लस मात्र देखाउँछ । त्यस्तो हुँदा धेरैलाई यसमा थोरै प्रयोगकर्ता छन् कि भन्ने लाग्ने रहेछ । तर, डाउनलोड लगभग ५० हजार पुग्न लागेको छ । सक्रिय प्रयोगकर्ता हरेक दिन १० हजार बढी हुन्छन् ।
उनको फेसबुक पेजमा डेढ लाख बढी फलोअर छन् । भन्छन्, “अरू विषयमा खोलेको फेसबुक पेजमा फलोअर घट्ने भन्ने त्यति हुँदैन । तर, यो एजुकेसनल प्लेटफर्मको पेजमा हुने रहेछ । विद्यार्थीहरू ११/१२ पछि पेज अनफलो गर्छन् । किनभने त्यसमा उनीहरूलाई उपयुक्त हुने कन्टेन्ट त्यति आइरहेका हुँदैनन् ।”
उनले पेज र ग्रुपलाई सक्रिय बनाइ रहन र अनफलो नगर्नबाट रोक्न थप कन्टेन्ट राख्ने योजना बनाएका छन् । खासगरी कुनै न कुनै रूपमा नयाँ ज्ञान दिने किसिमका कन्टेन्ट राखेर अडियन्सलाई पेजमा अड्याइराख्ने उनको चाहना छ । उनका अनुसार आफूलाई उपयुक्त नहुने कन्टेन्ट देखेपछि दैनिक दुई तीन हजारले अनफलो गर्छन् । फलो गर्ने पनि त्यत्तिकै हुने भएकाले पेजमा फलोअरको सङ्ख्या ह्वात्तै बढ्ने वा घट्ने नभएको उनी सुनाउँछन् ।
एपमा के छ ?
एन्ड्रोइड ५.१ वा सो भन्दा माथिका भर्सन सपोर्ट गर्ने यो एप ६.४ एमबीको छ । अर्थात् थोरै स्टोरेज वा पुरानो भर्सनको एन्ड्रोइड फोन छ भने पनि त्यसमा यो एप चलाउन सकिन्छ । एप डाउनलोड गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । अहिलेलाई एप एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एप खोल्ने बित्तिकै प्रयोगकर्ताले आफ्नो प्रदेश, जिल्ला र सहर छान्नुपर्ने हुन्छ । यति गरेपछि एपको होमपेज खुल्छ । अहिलेलाई यसमा डिफल्ट रूपमा कक्षा ११ र आईओई छनोट भएको हुन्छ । यसलाई परिवर्तन गर्न माथि दायाँपट्टि रहेको तीन ओटा बारमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि ‘एडिट डिटेल्स’ मा गएर कक्षा र एक्जाम छान्नुपर्ने हुन्छ । यसमा कक्षा १०, ११, १२ र पास आउट विकल्प छान्न सकिन्छ । त्यस्तै एक्जाममा आईओई, सीईई, आईओई प्लस सीईई छान्न सकिन्छ ।
अर्थात् यस प्लेटफर्ममा कक्षा ११ र १२ का सम्पूर्ण कोर्सका नोट तथा अभ्यास सामग्री उपलब्ध छन् । एपमा मल्टिपल च्वाइस क्वेइश्चन, नोट, टेस्ट र भिडिओ जस्ता फिचर छन् । अहिले पर्याप्त भिडिओ सामग्री नभए पनि विस्तारै विस्तार गर्दै लाने उनको चाहना छ ।
अनुहार गोप्य !
बिस्ट धेरैले आफ्नो नाम चिने पनि अनुहार नचिनुन् भन्ने चाहन्छन् । उनले जानाजानी अनलाइनमा आफ्नो पहिचान गोप्य राखेका छन् र आफ्नो अनुहार कहिल्यै सार्वजनिक नगरेको दाबी गरेका छन् । उनी आफ्नो व्यक्तिगत जीवनलाई आफ्नो अनलाइन कामबाट अलग राख्न चाहन्छन् । “मलाई धेरैले चिन्नुपर्छ भन्ने मलाई लाग्दैन । यस्तो प्लेटफर्म पनि छ भन्ने थाहा होस् । अनि विद्यार्थी सहजै पढ्न पाउन् । त्यसैले म मेरो अनुहार चिनाउनेभन्दा पनि प्लेटफर्म चिनाउन लागिपरेको छु ।”
प्लेटफर्ममा सामग्री तयार पार्ने क्रममा आफ्नो पढाइमा कुनै नकारात्मक असर नपरेको बिस्टको बुझाई छ ।
प्लेटफर्मको निरन्तरता
पढाई एउटा ध्रुवको छ भने बिस्टले रोजेको काम फरक छ । यसले गर्दा उनले यस प्लेटफर्मलाई कहिलेसम्म निरन्तरता दिन्छन् भन्ने प्रश्न उब्जी रहन्छ । यस सन्दर्भमा बिस्ट भन्छन्, “यो प्लेटफर्म ठुलो बनाउने मेरो सानैदेखिको चाहना हो । मैले जुन क्षेत्रलाई पेसा बनाए पनि प्यासनको रूपमा रहेको यो एपलाई सधैँ निरन्तरता दिने प्रयासमा छु ।” विद्यार्थीलाई सजिलै अध्ययन सामग्री उपलब्ध गराउन आफू सधैँ त्यसैमा लागिरहने उनी बताउँछन् । -टेकपानाबाट
तपाईको प्रतिक्रिया