धनगढीमा दुई हजार बढी घरमा पानी पस्यो

सोमबार असार १६, २०८२/ Monday 06-30-25
Paschim Today

धनगढी, १६ असार ।
वर्षायाममा हरेक वर्ष डुबानमा पर्दै आएको धनगढी नगर क्षेत्रका यसअघि डुबानमा नपरेका क्षेत्र समेत यस पटक डुबानमा परेका छन् ।

आईतवार रातिदेखि परेको अविरल वर्षापछि धनगढीका अधिकांश वडा डुबानमा परे । कहिल्यै डुबानमा नपरेका क्षेत्रहरु समेत यसपटक डुबानमा परे । धनगढी नगरक्षेत्रका दुई हजारभन्दा बढि घरभित्र पानी पसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडक भन्दा वस्ती होचो भएका कारण कतिपय सडकमा पानी नजमेपनि वस्ती भने जलमग्न भए । धनगढीको रातोपुल, हसनपुर, शिवनगर, बिशालनगर, क्याम्पस रोड लगायतका वस्तीहरु जलमग्न भए । नगरभित्रका अधिकांश विद्यालय परिसर जलमग्न भएका कारण सोमवार विद्यालयहरु समेत पूर्ण रुपमा बन्द भए । कतिपय वस्ती जलमग्न भएका कारण आवातजावतमै उत्पन्न समस्या भयो ।

जिल्ला प्रशासन कार्यलय कैलालीले धनगढी उपमहानगरपालिकाको ७ र १३ नम्बर वडामा बाढी पसेकोे जनाएको छ । त्यस्तै चटकपुरमा २०, श्रीलंका, राजपुरमा २०, विद्युत कार्यालय नजिक ३० घर, मिलनचौक क्षेत्रका ६०, तारानगरका २० घर, शिवनगरका सय घरमा पानी पसेको जनाएको छ ।

कैलाली बहुमुखी क्याम्पस क्षेत्रका वस्तीहरु पूर्ण रुपमा जलमग्न भए । शिक्षानगरका अधिकांश घरभित्र पानी पसेको स्थानीय गम्भीर सिंह ऐरले बताए । उनले प्रशासनको तथ्यांकभन्दा धेरै बढिघरहरु डुबानमा परेको बताए ।

गोदावरी नगरपालिका ४ मा दुई सय र वडा नम्बर ५ मा दुई सय ५० घर जलमग्न भएको प्रशासनले जनाएको छ । अविरल वर्षापछि भएको डुबानले घर भत्किदा एक परिवार चार जना विस्थापित भएपनि मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा धनगढी विमानस्थल क्षेत्रमा २१३.२ मिलिमिटर र कञ्चनपुरमा २७१ मिलिमिटर वर्षा मापन गरिएको छ । आज, साँझ ५ः ०५ बजेको मापन अनुसार कैलालीमा रहेका प्रमुख नदीहरुमा जलस्तर खतराको तह भन्दा भन्दा तल छ । कर्णाली नदीमा पानी बढ्दो भएपनि, खतराको तह पार नगरेकोे जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वस्तीमाथि अग्लो सडक र ढल भएका कारण पानी थुनिदा धनगढी जलमग्न भएको नगरवासीहरु बताउँछन ।

सूचना अधिकारी जोशीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताए । जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ ।