सम्झना मृत्यु प्रकरण: श्रीमान्सहित चार जना पक्राउ, अडियो अनुसन्धान गर्दै प्रहरी

कैलाली । कञ्चनपुरकी १८ वर्षीया सम्झना भट्ट साउन २० गते आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परिन् । बेलडाँडी गाउँपालिका-२ निवासी २४ वर्षीय पवन भट्टसँग प्रेम विवाह गरेकी सम्झनाको ६ महिनामै भएको निधनले सबै स्तब्ध बनेका छन् । उनीहरूबीच करिब ४ वर्षको प्रेम सम्बन्धपछि विवाह भएको थियो ।
सम्झनाको मृत्युलाई उनका परिवारले शंकास्पद मानेका छन् । घटनाको अघिल्लो दिन मात्रै सम्झना श्रीमान्ले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलडाँडी पुगेकी थिइन् । उजुरीपछि प्रहरीको पहलमा पवनलाई सम्झाइ–बुझाइ गरेर छाडिएको थियो । तर, त्यसको भोलिपल्ट बिहान सम्झना घरभित्रै मृत अवस्थामा फेला परिन् ।
सम्झनाको उमेर १३ वर्ष हुँदादेखि नै पवनसँग प्रेम सम्बन्ध सुरु भएको थियो । सम्बन्ध सार्वजनिक भएपछि उनीहरूले परिवारको सहमतिमा विवाह गरेका थिए । तर, विवाहपछि सम्झना निरन्तर हिंसाको सिकार भएको आफन्तहरूको आरोप छ ।
प्रहरीका अनुसार सम्झनाले मृत्यु हुनु केही समयअघि एक जना साथीलाई वाट्सएप म्यासेज पठाउँदै आफू श्रीमान्को कुटपिटको सिकार भएको जानकारी गराएकी थिइन् । उक्त म्यासेज र पारिवारिक भनाइलाई आधार मानेर माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।
यो घटना सामान्य आत्महत्या नभई घरेलु हिंसा र पारिवारिक यातनाको क्रूर परिणाम भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान गरिरहेको छ । सम्झनालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्ट र आमाजू (श्रीमान्की दिदी) पूजा भट्टलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।
पहिलो पटक सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले थप अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गरेको छ ।
‘किटानी जाहेरी आएपछि मृतकका श्रीमान्सहित चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, ‘पहिलो पटक सात दिनको म्याद थप गरेर फेरि दोस्रो पटक म्याद थप गरिएको छ ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ की स्थायी बासिन्दा सम्झना १२ कक्षामा अध्ययनरत थिइन् । उनका श्रीमान् पवन भट्ट बेलडाँडी गाउँपालिका-२ निवासी हुन् । पवन स्नातक तहमा अध्ययनरत थिए । पढाइका क्रममा पवनले महेन्द्रनगरस्थित सम्झनाको घर नजिकै कोठा लिएर बस्ने गर्थे । यही क्रममा उनीहरूबीच चिनजान भई सम्बन्ध गहिरिँदै प्रेममा परिणत भयो ।
करिब चार वर्ष लामो प्रेम सम्बन्धपछि दुवै परिवारको सहमतिमा २०८१ साल फागुनमा उनीहरूको विवाह भयो । तर, विवाहको केही समय नबित्दै उनीहरूबीच मनमुटाव सुरु भयो ।
सम्झनाले मृत्युअघि माइतीलाई आफ्नो अन्तिम अवस्थाबारे संकेत गर्दै केही सन्देश पठाएकी थिइन् । ‘मलाई यहाँ पिटेको छ, टाउकोमा रगत धेरै बगिरहेको छ, म अब मर्छु होला,’ उनले भनेकी थिइन् ।
‘विवाहपछि केटा पक्षले दाइजोको कुरा निकाल्ने, मानसिक तनाव दिने र पारिवारिक बेमेलका घटना सुरु भएका थिए,’ सम्झनाको माइती पक्षको भनाइ उद्धृत गर्दै डीएसपी बोहराले भने, ‘श्रीमान् र परिवारबाट पाएको मानसिक तथा शारीरिक यातनाबारे सम्झनाले आफ्नो माइती पक्षलाई पटक-पटक जानकारी गराएकी थिइन् ।’
विवाद बढ्दै गएपछि, घटना हुनुभन्दा अघिल्लो दिन मात्रै प्रहरीले सम्झना र पवन दुवैलाई इलाका प्रहरी कार्यालयमा बोलाएर सम्झाइ–बुझाइ गरेर पठाएको थियो । तर, प्रहरीको यो प्रयासले पनि सम्झनाको जीवन बचाउन सकेन ।
सम्झनाको मृत्युको कारणबारे अनुसन्धानपछि मात्र प्रस्ट हुने प्रहरीले जनाएको छ । घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्ने भनाइ पनि प्रहरीले दिएको छ ।
त्यस्तै, प्रहरीले एउटा अडियो संवादलाई पनि अनुसन्धानको केन्द्रमा राखेको छ । मृतकका बुबाले प्रहरीलाई उपलब्ध गराएको उक्त अडिओमा सम्झनालाई मार्नका लागि उक्साएको सुन्न सकिने बताइएको छ ।
‘हामीलाई मृतकका बुबाले एउटा अडियो उपलब्ध गराउनुभएको छ, जसमा त्यस्तो संवाद रहेको भनिएको छ । हामी त्यो अडिओको प्राविधिक परीक्षण र प्रमाणीकरण गरिरहेका छौँ,’ डीएसपी बोहराले भने, ‘अडियो अनुसन्धानबाट धेरै कुरा सार्वजनिक हुनेछन् ।’
सम्झनाको शवको पोस्टमार्टम भइसकेको छ, तर विस्तृत रिपोर्ट आउन बाँकी छ । यद्यपि, प्रहरीले घटनास्थलमा तयार पारेको ‘शव परीक्षण मुचुल्का’मा उनको शरीरमा चोटपटक देखिएको उल्लेख छ , जसले घटनालाई थप शंकास्पद बनाएको छ ।
तपाईको प्रतिक्रिया