बाजुराको स्वामीकार्तिक खापर काँचो स्याउ नटिप्न आग्रह

बाजुरा । बाजुराको पूर्वोत्तर क्षेत्रको कर्णालीपारिमा रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा किसानलाई काँचो स्याउ नटिप्न आग्रह गरिएको छ । सुदूरपश्चिमको स्वामीकार्तिक खापर गाउँपालिकामा स्याउ निकै उत्पादन हुने गरेको छ ।
यहाँको स्याउ भदौको अन्तिममा पाक्ने गर्छ । यहाँका किसानले भने अहिले नै काँचै टिपेर बेच्ने गरेका छन् । यसरी काँचो स्याउ बेच्दा भविष्यमा यसको गुणस्तर घट्ने तथा नटिक्ने सम्भावना देखिएकाले स्थानीय तहले काँचो स्याउ टिपेर बिक्री नगर्न आग्रह गरेको हो ।
स्याउको सहर भने चिनिँदै आएको बाजुराको स्वामीकार्तिक खापर पालिकामा यतिबेला बारीमा स्याउ लटरम्म छन् तर पाकिसकेका छैनन् । नपाक्दै टिपेर बिक्री गरेको पाइएकाले काँचो स्याउ नटिप्न यहाँका किसानलाई आग्रह गरेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।
हिमाली १८ स्वामीकार्तिक ३५ जगनाथमा ४५ बुढीनन्दामा ५० खप्तडछेडेदहमा एक बुढीगङ्गा नगरपालिका–१ गरी १५० परिवारले स्याउ खेती गर्दै आएका छन् । यता गौमूल गाउँपालिकामा एक समूहमार्फत स्याउ खेती सुरु भएको हो ।
आव २०८१/८२ मा यहाँ १४ देखि १५ सय टन उत्पादन भएको थियो । अहिले पनि त्यसैको हाराहारीमा स्याउ उत्पादन भएको छ । गत वर्षमा ५१५ क्विन्टल स्याउ बाहिर बिक्री हुँदा यहाँका किसानले झन्डै ७० दखि ८० लाख रुपियाँभन्दा बढी आम्दानी गरेका थिए ।
बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ राम्रो उत्पादन हुने गरेको छ । यहाँ ४१० हेक्टर जमिनमा स्याउ रोपिएको छ । त्यसमध्ये दुई हेक्टर जमिनमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र कार्यालय बाजुराका सूचना अधिकारी न्यौपानेले बताए ।
तपाईको प्रतिक्रिया