चिकित्सकहरू ठूलो सङ्ख्यामा नियमित रूपमा विदेश 'पलायन' हुँदाको जोखिम

बिहीबार श्रावण ३०, २०८२/ Thursday 08-14-25
Paschim Today

काठमाडौं ।  शहीद गङ्गालाल हृदय रोग केन्द्रका वरिष्ठ शल्यचिकित्सक डा रामेश कोइरालाले अमेरिका पुगेर राजीनामा दिएको घोषणा गरेपछि नेपालमा विशेषज्ञ चिकित्सकहरूको विदेश पलायनबारे कतिपयले चिन्ता गरिरहेका छन्। सामाजिक सञ्जालमा यस्तो चिन्ता गर्नेमा स्वास्थ्यकर्मीहरू मात्रै नभई राजनीतिज्ञ र सर्वसाधारण समेत छन्।

नेपाल मेडिकल काउन्सिलका अनुसार गएको आर्थिक वर्ष विदेशमा अध्ययन वा कामका लागि चारित्रिक प्रमाणपत्र लिने चिकित्सकहरूको सङ्ख्या २,६८१ छ। त्यसमध्ये २९१ जनाले नेपालमै रहनका लागि 'गुड स्ट्यान्डिङ सर्टिफिकट' भनिने चारित्रिक प्रमाणपत्र लिएका छन्।

सन् २०२० अघि 'मेडिकल' र 'डेन्टल' गरी चिकित्सकको लाइसन्स परीक्षा उत्तीर्ण गर्नेहरूको सङ्ख्या २६ हजार आसपास मात्रै रहेको काउन्सिलको तथ्याङ्कले देखाउँछ।

चिकित्सा क्षेत्रको नियामक निकाय मेडिकल काउन्सिलका अनुसार सबैभन्दा धेरै चिकित्सकहरूले अमेरिका जानका लागि चारित्रिक प्रमाणपत्र लिएका छन्। त्यसपछि यूके, माल्दिभ्स, अस्ट्रेलिया, भारत, क्यानडा लगायतका देशहरू छन्।

नेपाली चिकित्सकहरू सिङ्गापुरदेखि साउदी अरबसम्म गइरहँदा देशमा जनसङ्ख्याको अनुपातमा चिकित्सकहरूको अभाव कम गर्ने सरकारी लक्ष्यमा भने चुनौती थपिने क्रममा छ।

चिकित्सक पलायन हुँदा निम्तिने जोखिम

चिकित्सकहरू शल्यक्रियापछि

तस्बिर स्रोत,SDNTC

नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकहरूको पछिल्लो सङ्ख्या ३८,४९९ छ। त्यसमध्ये केही विदेशी चिकित्सकहरू पनि छन्।

नेपालमा करिब ११,००० विशेषज्ञ चिकित्सक छन्।

पछिल्लो समय तीव्र गतिमा बढेको चिकित्सकहरूको विदेश पलायनले केही विशिष्ट र जटिल रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरू स्वदेशमा र विशेष गरी उपत्यका बाहिर पाउन चुनौती हुन सक्ने नेपाल चिकित्सक सङ्घका वरिष्ठ उपाध्यक्ष डा बद्री रिजाल बताउँछन्।

"विशेषज्ञ हुनलाई ३५ वर्षसम्म अध्ययन गरेर तयार भएको जनशक्तिलाई रोक्न सकेन भने पक्कै पनि स्वास्थ्य क्षेत्रमा ठूलो असर हुन्छ," रिजाल भन्छन्। "कार्डिओलजिस्ट, कार्डियाक सर्जन, भास्कुलर सर्जन, न्यूरोसर्जन, प्लास्टिक सर्जनहरूको जनशक्ति अहिले नै अभाव छ।"

सेवा सुविधा र चिकित्सकहरूमाथि बेलाबखत हुने आक्रमणबाट व्यक्तिगत सुरक्षा अभावका कारण चिकित्सकहरू उपत्यका बाहिर बस्न नखोजेको रिजाल बताउँछन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले पनि काठमाण्डू उपत्यकाबाहिर चिकित्सक र स्वास्थ्यकर्मीहरूको अभाव देखाएको छ। सङ्घीय अस्पतालहरूमा चिकित्सकहरूको दरबन्दी रिक्त नभए पनि प्रादेशिक र स्थानीय अस्पतालहरूमा चिकित्सकहरू धेरै रिक्त रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी बताउँछन्।

त्यसको एउटा कारण प्रदेश लोकसेवा आयोगबाट चिकित्सकहरूको पदपूर्तिमा भएको ढिलाइ पनि रहेको उनले बताए। नेपालमा सङ्घीय संरचना लागु भएपछि स्वास्थ्यकर्मीहरूको समायोजन हुँदा अधिकांशले सङ्घीय सेवा रोजेका थिए।

"देशभरि तीनवटै तहमा सबै स्वास्थ्यकर्मीहरूको ३२-३३ हजार दरबन्दी हुँदा २०-२१ हजारभन्दा धेरै स्वास्थ्यकर्मीहरूको पदपूर्ति भएको छैन," उनी भन्छन्।

नेपालमा चिकित्सा अध्ययन गर्ने युवाहरूको सङ्ख्या बढ्दो क्रममा रहे पनि नयाँ चिकित्सकहरूलाई स्वदेशमै टिकाउन चुनौती देखिएको मन्त्रालयका प्रवक्ता बताउँछन्।

"नेपालमा उचित सुविधा र पेसागत सुरक्षा दिन सकियो भने मात्रै चिकित्सकहरू रहलान्। नभए त जहाँ बढी सुविधा पाइन्छ, जहाँ भविष्य सुनिश्चित हुन्छ, सबै त्यतै जान खोज्छन्," बुढाथोकी भन्छन्।

निजामती ऐनमा स्वास्थ्यलाई अलग राख्ने र काम तथा दुर्गमताअनुसार अतिरिक्त सेवासुविधाको कानुन बनाउन पहल भइरहेको प्रवक्ता बुढाथोकी बताउँछन्।

जनसङ्ख्याको अनुपातमा चिकित्सकहरूको अभाव

चिकित्सकहरू शल्यक्रिया गर्दै

तस्बिर स्रोत,SDNTC

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक १०,००० जनसङ्ख्याबराबर १० जना मेडिकल डाक्टरहरू छन्। उक्त संयुक्त राष्ट्रसङ्घीय निकायले दिगो विकास लक्ष्य हासिल गर्न प्रत्येक १० हजार जनसङ्ख्याका लागि ४४ जना डाक्टर, नर्स र सुँडेनीहरू आवश्यक पर्ने जनाएको छ।

"एक करोड नेपाली हुँदाको जनशक्तिले अहिले तीन करोड जनसङ्ख्या हुँदा पनि सेवा दिनु परिरहेको छ। एक जना स्वास्थ्यकर्मीले चार जनाबराबरको काम गर्नुपर्ने अवस्था छ," मन्त्रालयका प्रवक्ता बुढाथोकी भन्छन्।

चिकित्सा शिक्षा आयोगको नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपणले विसं २०८७-८८सम्म प्रति १० हजार जनसङ्ख्यामा स्वास्थ्य जनशक्ति अनुपात ४७.४५ हुने प्रक्षेपण गरेको छ।

उक्त प्रतिवेदनले नेपालमा स्वास्थ्य जनशक्तिको औसत वार्षिक वृद्धिदर ३.६ प्रतिशत हुने आकलन गरे पनि विशेषज्ञ चिकित्सकको वृद्धिदर न्यून हुने प्रक्षेपण गरेको छ।

विसं २०७७/७८ सालमा एमबीबीएस स्नातक र तथा विशेषज्ञसहित ५,७७९ चिकित्सक अपुग रहेको उक्त प्रक्षेपणमा उल्लेख थियो। त्यस बेला करिब २०,००० मात्रै चिकित्सक थिए।

विसं २०८२/८३सम्म ३०,००० चिकित्सक आवश्यक हुने प्रक्षेपणअनुसार नेपालमा उत्पादित चिकित्सकहरूको सङ्ख्या बढे पनि नेपालमा कार्यरत चिकित्सकहरू २०,००० आसपास मात्रै रहेको चिकित्सक सङ्घको आकलन छ।

'बिरामीको खर्च बढ्न सक्छ'

अस्पतालको औषधि बिक्री कक्षअगाडि बिरामीहरूको लाइन

नेपालका अब्बल र नयाँ पुस्ताका चिकित्सकहरू ठूलो सङ्ख्यामा बाहिरिनु गम्भीर समस्या रहेको प्राध्यापक डा अर्जुन कार्की बताउँछन्। "यो समाजका सबै क्षेत्रले चिन्ता गर्नुपर्ने विषय हो। चिकित्सक मात्रै गएका छैनन्, नर्सहरू पनि गइरहेका छन्, विद्यार्थी पनि गएका छन्, धेरै युवाहरू गइरहेका छन्," कार्की भन्छन्।

"यो क्रम रोक्न सकिएन भने सक्नेले विदेश गएर उपचार गर्नुपर्ने र नसक्नेले उपचार नपाएर मर्नुपर्ने अवस्था आउन सक्छ।" सरकारी छात्रवृत्तिमा अध्ययन गरेर तयार भएका नयाँ चिकित्सक बाहिरिँदा राज्यको लगानी र दक्ष चिकित्सकको उपलब्धता जस्ता दुवै पाटोमा असर पर्ने चिकित्सा क्षेत्रका जानकारहरू बताउँछन्।

नेपालमा अहिलेसम्म पनि कतिपय जटिल रोगसम्बन्धी दक्ष चिकित्सक उत्पादन हुँदैनन्। बाहिर पढेर आएका चिकित्सकहरू नेपालमा नटिकेर विदेशिनुपर्ने अवस्था आए त्यसले थप चिन्ता जन्माउने कार्की बताउँछन्।

चिकित्सक सङ्घका वरिष्ठ उपाध्यक्ष रिजाल दक्ष चिकित्सकको सङ्ख्या कम हुँदा बिरामीहरूको उपचार खर्च बढ्न सक्ने बताउँछन्।

"अहिले नै उपत्यकाबाहिर दक्ष चिकित्सक नहुँदा उसको आउनेजाने खर्च बेहोरेर अस्पतालहरूले झिकाउने गरेका छन्। बिरामी आफैँ बाहिरबाट काठमाणडू आउनुपर्‍यो भने पनि उसको आउनेजाने, खानेबस्ने थप खर्च हुने अवस्था छ," रिजालले भने। -बीबीसी नेपाली