बझाङको दुर्गम बस्तीमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण, शनिबार पनि सेवा

बिहीबार श्रावण ३०, २०८२/ Thursday 08-14-25
Paschim Today

बझाङ — बझाङको छविसपाथिभेरा गाउँपालिका–१ का जनप्रतिनिधि र कर्मचारीले वडाबाट मात्र नभई लाभग्राहीको घर र टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान सुरु गरेका छन्।

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले भदौ मसान्तसम्म स्वयम् पालिका वा वडामा पुगेर नवीकरण गर्नुपर्ने प्रावधान छ। तर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त व्यक्तिलाई वडासम्म पुग्न कठिन हुने भएकाले वडा–१ का जनप्रतिनिधि र कर्मचारीले उनीहरूको घर र टोलमै पुगेर नवीकरण गरिदिएका हुन्।

वडा सचिव सुरेश बोहराका अनुसार बिहानदेखि साँझसम्म वडाका विभिन्न बस्ती, टोल र घरमा पुगेर नवीकरण कार्य भइरहेको छ। उनले भने, “शनिबारको दिन समेत हामी यसै अभियानमा सक्रिय छौं। कार्यालय समयमा सर्भर डाउन हुने र सेवाग्राहीलाई टाढाबाट आउन कठिन हुने भएकाले टोल–टोलमै पुगेर काम गरेका हौं।”

वडा अध्यक्ष करणजंग बहादुर सिंहका अनुसार साउन १३ गतेदेखि वडाका पाँच स्थानमा पुगेर नवीकरण गरिँदै आएको छ। उनका अनुसार टोल–टोलमा पुगेर गरिएको नवीकरणले जनतालाई ठूलो राहत मिलेको छ। अनिवार्य राष्ट्रिय परिचयपत्र र स्वयं उपस्थित हुनुपर्ने जस्ता कारणले असहज महसुस गरेका लाभग्राहीलाई यो अभियानले सहज बनाएको उनले बताए।

ज्येष्ठ नागरिक भत्ता नवीकरणका लागि आएकी गुरैलथुम टोलकी ९२ वर्षीया उजली धामीले वडामा जान गाह्रो हुने भएकाले घरमै सेवा पाउँदा सहज भएको बताइन्। “यो उमेरमा वडासम्म जान गाह्रो पर्छ। अब घरमै आएर भत्ता नवीकरण गरिदिँदा धेरै सजिलो भयो, सबैलाई धन्यवाद छ,” उनले भनिन्।