केरलाको अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै दुई नेपाली कवि

बिहीबार श्रावण ३०, २०८२/ Thursday 08-14-25
Paschim Today

काठमाडौं – साउन २९ 

केरलाको अन्तर्राष्ट्रिय साहित्य महोत्सव (ILFK) ले दुई प्रमुख नेपाली कवि, भुवन थपलिया र अमर आकाशलाई केरलाको त्रिशूरमा १७ देखि २१ अगस्टसम्म आयोजना हुने दोस्रो संस्करणमा भाग लिन आमन्त्रित गरेको छ।

केरला साहित्य एकेडेमी र केरला सरकारको संस्कृति विभागको सहकार्यमा आयोजना गरिएको ILFK लाई एक वास्तविक जन–महोत्सवका रूपमा लिइन्छ, जसले साहित्यिक मिलनउत्सुकता र प्रेरणाको शक्तिलाई पर्वका रुपमा मनाउँछ।

यस कार्यक्रमले भारत र विदेशका २०० भन्दा बढी अग्रणी लेखक, कवि र विचारकलाई पठन, छलफल तथा सांस्कृतिक आदान–प्रदानका लागि एकसाथ ल्याउने काम गर्दछ।

थपलिया र आकाश दुवैले विभिन्न पठन सत्रहरूमा भाग लिनेछन् र विश्वभरका मलयालम कविहरू तथा अन्य अन्तर्राष्ट्रिय लेखकहरूसँग संवाद गर्नेछन्। उनीहरू अन्तर्राष्ट्रियस्तरमा प्रशंसित प्यालेस्टिनी कवि अस्मा अजाइजेह र प्रख्यात तिब्बती कवि तेन्जिन सुन्डुसँगै 'कवितामा नयाँ प्रवृत्ति' शीर्षकको प्यानल छलफलमा पनि सहभागी हुनेछन्।

काठमाडौंका अङ्ग्रेजी भाषाका कवि भुवन थपलिया सफा टेम्पो (निराला, नयाँ दिल्ली) सहित चार कविता संग्रहका लेखक हुन्। पेशाले अर्थशास्त्री रहेका उनले Life in Quarantine: Witnessing Global Pandemic Initiative (स्ट्यानफोर्ड विश्वविद्यालय), International Human Rights Art Festival र Poetry and Covid (युके आर्ट्स एण्ड ह्युम्यानिटीज रिसर्च काउन्सिल) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल तथा सङ्ग्रहहरूमा आफ्नो कृति प्रकाशित गरेका छन्।

उनले दक्षिण कोरिया, भारत, संयुक्त राज्य अमेरिका, थाइल्यान्ड, कम्बोडिया र नेपालमा साहित्यिक कार्यक्रमहरूमा आफ्नो कविता प्रस्तुत गरेका छन्।

अमर आकाश (लक्ष्मण अधिकारीको लेखनाम) समकालीन नेपाली कविता र कथामा एक विशिष्ट आवाज हुन्। नयाँ दिल्ली विश्व पुस्तक मेलामा विमोचित उनको पहिलो कविता संग्रह तुङ्गनाले भारत र नेपाल दुवैमा गीतात्मक गहिराइ र नवीन शैलीका कारण प्रशंसा पायो।

मधुपर्क र प्रतीकका नियमित स्तम्भकार, आकाश आफ्ना साहित्यिक आलोचना, चलचित्रसम्बन्धी निबन्ध, र समकालीनमा प्रकाशित कथाहरूका लागि पनि परिचित छन्। उनको धेरै प्रतीक्षित पहिलो उपन्यास ग्रहण सन् २०२६ मा प्रकाशन हुने तर्खरमा छ। ILFK लाई “सुनौलो अवसर” भन्दै आकाशले भने, “नेपाली साहित्यलाई फराकिलो संसारमा परिचय गराउनु र विशिष्ट लेखकहरूको आकाशगंगामा सामेल हुनु एक सौभाग्य हो।”

थपलियाले पनि समान भावना व्यक्त गर्दै आफ्नो सहभागितालाई “एक अद्वितीय अनुभव — हाम्रो नजिकको छिमेकीलाई अध्ययन गर्दै यसको जीवन्त साहित्यिक सागरमा पौडने अवसर” भनेर वर्णन गरे। केरलाको अन्तर्राष्ट्रिय साहित्य महोत्सवले हजारौं साहित्य–उत्साहीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ र सांस्कृतिक आदान–प्रदान तथा संवादका लागि एक गतिशील प्लेटफर्मको रूपमा स्थापित हुने वाचा गर्दछ।