Close This

पौरखी युवा : जो उद्यम गर्न स्वदेश फर्किए

आइतबार माघ ८, २०७९/ Sunday 01-22-23
दीर्घराज उपाध्याय

धनगढी,८ माघ । अध्ययन, अवसर र कामको खोजीमा आफ्नो थाँतथलो छोडेर विदेश गएकाहरु मध्ये बिरलै व्यक्तिहरु फर्किने गरेका छन् । त्यसमाथि युरोप र अमेरिकाबाट फर्किनेहरु त अपवादमा पर्छन ।

आजको अंकमा हामी तिनै अपवाद भित्र पर्ने पौरखी र युवाहरुको चर्चा गर्दैछौ । जो आफ्नै भूमिमा उद्यम गर्न विदेशको सुख, सुबिधाको मोह नगरी फर्किए ।धनगढीमा त्यस्ता दर्जनौ युवाहरु छन्, त्यसमध्ये पहिलो अंकमा हामी केही युवाहरुको चर्चा गर्दैछौ । जो विदेशबाट फर्किएर चुपचाप बसेनन । जसले केही नयाँ काम गरे । विदेशको अनुभव, ज्ञान, सीप र पूँजीलाई आफ्नो क्षेत्रको विकास र समृद्धिमा लगाए । जसले व्यापार, व्यवसाय मार्फत सयौ व्यक्तिलाई रोजागारी दिएर विदेश पलायन हुन रोके ।

११ वर्ष लामो अमेरिकाको बसाई बीट मार्दै २००२ मा फर्किएका महेश शाहले धनगढीमा रेष्टुरेण्ट, पार्टी प्यालेस, मिनि मार्ट, परिकार र अटो वर्कसपका क्षेत्रमा नयाँपन थिए । उनले शुरु गरेका व्यवसाय अधिकांश व्यवसाय धनगढीमा पहिलो थिए । शाहले सञ्चालन गरेका व्यवसायहरु मार्फत दुई सय भन्दा बढिले रोजगारी पाएका छन् ।

१० वर्ष लामो कोरियाको बसाई र त्यहाँको आकर्षक जागीर छाडेर कोरियाबाट तीन वर्ष अघि फर्केका धर्मराज जोशीले थालेको व्यवसाय पनि धनगढीमा नौलो थियो । उनले धनगढी वाल पेपर तथा होम डेकोरेशनको काम शुरु गर्दा त्यो व्यवसाय शुरु गर्ने उनी धनगढीको पहिलो थिए । त्यसपछि उनले खोलेको उल्का गार्मेन्ट पनि सुदूरपश्चिम प्रदेशकै पहिलो गार्मेन्ट हो । जसले जीन्स र अन्य कपडाका फेन्सी लुगाहरु उत्पादन गर्ने गरेको छ । मालिका हार्डवेयर प्रालि समेत सञ्चालनमा ल्याएका जोशीले विदेशबाट फर्केर आएकाहरुसंग मिलेर परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा ल्याएका छन् । जोशीको अगुवाईमा सञ्चालनमा आएका व्यवसायीक प्रतिष्ठान तथा फर्महरु मार्फत सयजना भन्दा बढिले रोजगारी पाएका छन् ।

भारतमा केमिकल ईञ्जिनियरिङ सकेर जर्मनी पुगेका आदित्य अग्रवाल त्यहाँ ६ महिना काम गरेर १० वर्ष अघि गृहनगर धनगढी फर्किए । धनगढी फर्किएर १० वर्ष अघि आदित्यले खोलेको आरपी बेकरीका उत्पादनले राजधानी काठमाण्डौं सहित देशका अधिकांश शहरमा छुट्टै छाप छोडेको छ । उनका राम्रो केकले भारतीय ब्रिटानिया लगायतका केकहरुलाई त झण्डै विस्थापित गरिदिएको छ ।बेकरीका पारखीहरुलाई उत्कृष्ट उत्पादन दिएर उनले धनगढीलाई देशभरी चिनाएका छन् ।

बेलायतबाट पढाई पुरा गरेपछि २००९ स्वदेशमै उद्यम गर्ने सोचका साथ गृहनगर धनगढी फर्किएका ईश्वर खड्काले आफ्ना बुवाले सञ्चालन गरेको व्यवसायलाई फैलाएका मात्र छैन ।

कतिपय नयाँ व्यवसायको समेत शुरुवात गरेका छन् ।  उनले धनगढीमा होटल होली प्यालेसमा बुवा प्रेम खड्कालाई सघाईरहेका छन् भने आफैले पनि व्यवसायको अगुवाई गरिरहेका छन् । उनी होटल, रेष्टुरेण्ट, एमआरएफ टायरको शो रुम, छालाका पर्स,बेल्टको शोरुम मिराक फाईन लेदर्स, हिमालयन टायर रिसोलिङ लगायतका व्यवसायमा संलग्न छन् । एमआरएफको अधिकृत बिक्रेता रहेका खड्काले त्यसको व्यापारलाई महेन्द्रनगर, टीकापुर, अत्तरीया र लम्कीमा समेत विस्तार गरेका छन् ।  प्राथमिक शिक्षा काठमाण्डौंको ग्यालेक्सी स्कुलबाट पुरा गरेका खड्काले माध्यामिक तहको पढाई दार्जिलिङबाट पुरा गरे । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि उनी मुम्बई गए । र, मुम्बईबाट ग्रयाजुयटका लागि सन २००३ मा उनी बेलायत पुगे । र बेलायबाट ग्रायजुट पुरा गरेपछि उनी नेपाल फर्किए । त्यसयता उनी बिभिन्न व्यवसायमा सञ्चालन गर्दै आएका छन् । जहाँ सय जना भन्दा बढिले रोजागारी पाएका छन् ।

अष्टे«लियामा माष्टर्सको पढाई पुरा गरेपछि राजेन्द्र चन्द पनि गृहनगर धनगढीमा व्यवसाय गर्ने निर्णयमा पुगे । र, २०११ मा स्वदेश फर्किए । उनलाई पनि त्यहाँको सुख, सुबिधा र अवसरले रोक्न सकेन । धनगढी फर्किएपछि उनले बुवाले सञ्चालन गर्दै आएको हार्डवेयर व्यवसायमा सघाए । हार्डवेयरपछि उनले मार्टमा हात हाले र, भूमिराज मार्ट सञ्चालनमा ल्याए । कोभिडअघि हसनपुरस्थित कर्भडहलको भवनमा घराना चुलो सञ्चालनमा ल्याएका चन्दले त्यो संगै फाप्ला एग्रिकल्चर पनि सञ्चालनमा ल्याएका छन् ।

डोटीको जमलकट्टेमा २०४८ सालमा जन्मिएका दिवस जोशी डोटीकै सुजङ स्कुलबाट माध्यामिक तहको पढाई पुरा गरे । त्यसपछि प्लस टु पढ्न काठमाडौँ गए । अनि ग्रयाजुयटको पढाईका लागि उनी बेलायतको स्कटल्यान्ड पुगे ।  स्कटल्यान्डमा पढाई पुरा गरेपछि उनी अवसरको खोजीमा पोर्चुगल गए । त्यहाँ एक वर्ष काम गरे । पछि आफ्नै रेष्टुरेन्ट खोले । चार वर्ष रेष्टुरेन्ट चलाए । कोभिड शुरु भएपछि उनी स्वदेशमै केही काम गर्ने सोचका साथ युरोपको बसाई बीट मार्दै फर्किए ।

धनगढीमा उनले सफा र हाईजेनिक मासु पसल देखेनन । र, हसनपुरमा शुरु गरे, मीट सप । त्यसको केही समयपछि धनगढी उपमहानगरपालिका–१२ जुगेडामा कुखुराको आधुनिक फर्म शुरु गरे । उनको रुचि र अनुभव होटल र रेष्टुरेण्टमा थियो । त्यही रुचि पुरा गर्न चार महिना अघि चटकपुरस्थित वर्षा होटल भाडामा लिए । जसलाई उनले होटल सितार नाम दिए । सेवा, सुबिधा र गुणस्तरमात्र फेरेनन । सस्तो मूल्यमा बातानुकूलित रुम, मिठो आतिथ्यता, सरसफाई र पारिवारिक वातावरणले छोटो समयमै ग्राहकहरुको मन जित्न उनी सफल भएका छन् । उनले डेढ वर्षको अबधिमा सञ्चालनमा ल्याएका तीन वटा व्यवसायमा अढाई करोड रुपैया भन्दा बढि लगानी गरिसकेका छन् । ती व्यवसायमा २२ जनाले रोजगारी पाएका छन् ।

काठमाण्डौंमा पत्रकारिता गर्दा गर्दै बिहापछि सपरिवार अमेरिका पुगेका प्रकाश शाहलाई पनि स्वदेशमै केही उद्यम गर्ने हुटुहुटी भयो । त्यही हुटहुटीले ६ वर्षको अमेरिकाको बसाई, त्यहाँको सुखसुबिधा सबै छोडेर एक वर्ष शाह नेपाल फर्किए । नेपाल फर्किपछि शाह मार्ट र एग्रो व्यवसायमा संलग्न छन् । साथी मार्टमा पनि उनको लगानी छ । जसका देशभरी ११९ वटा शाखा छन् । यतिबेला उनी साथ मार्टलाई सुदूरपश्चिमलाई फैलाउने अभियानमा छन् । र आफ्नै निजी व्यवसायलाई पनि संगसंगै अगाडि बढाईरहेका छन् । धनगढीमा मात्र उनले  १० जनालाई रोजगारी दिएका छन् । 

यो पनि पढ्नुस् :-

महेश शाह : जसले अमेरिकाबाट फर्किपछि व्यवसायमा नयाँपन दिए

जसले आरपी बेकरी मार्फत धनगढीलाई नेपालमा चिनाए

बेलायतबाट फर्केका शाहले खोले सुबिधा सम्पन्न सौंराई स्क्वायर

धर्मराज जोशी : जसले कोरियाबाट फर्केर सय जनालाई दिए रोजगारी

अमेरिका छोडेर धनगढीमा मार्ट र एग्रोमा रमाउँदै प्रकाश